भदौ १७, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र अब वडाबाटै वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोताङ गाउँपालिकाको समन्वयमा यो सेवा वडास्तरमै उपलब्ध गराउन लागिएको हो । गाउँपालिकाले यसअघि घुम्ती शिविरमार्फत संकलन गरिएका राष्ट्रिय परिचयपत्रहरू वडागत रूपमा वितरण गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईका अनुसार भदौ १८ गते वडा नम्बर ४ को कार्यालयबाट वितरण सुरु हुनेछ । उहाँका अनुसार भदौ १८ गते ४ नम्बर वडा कार्यालयमा, १९ गते १ बजे सम्म वडा नम्बर ४ को कार्यालयमा र २ बजेबाट बासुकी आविबाट वितरण गर्ने भएको छ ।
यस्तै २४ र २५ गते वडा नम्बर २ को कार्यालयमा, २६ र २७ गते वडा नम्बर १ को कार्यालयबाट, २९ र ३० गते वडा नम्बर ५ को कार्यालयबाट र भदौ ३१ गते वडा नम्बर ३ को कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने छ । गाउँपालिकाले सम्बन्धित नागरिकहरूलाई आवश्यक कागजातहरू सहित तोकिएको मितिमा आ–आफ्नो वडा कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्र लिन अनुरोध गरेको छ ।
Discussion about this post