भदौ १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अवस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १३ वर्षमा १६ लाख बढी रकम घर भाडा बुझाएको छ । आर्थिक वर्ष २०६८/६९ देखी हाल सम्मको १३ वर्षमा कार्यालयले शाखा कार्यालय सञ्चालन मार्फत १६ लाख ५५ हजार दुई सय रुपैयाँ रकम घर भाडा बुझाएको हो । आफ्नै कार्यालय भवन निर्माण गर्न जग्गा भए बाबजुद पनि कार्यालय बर्षेनी लाखौ रकम भाडामा बुझाउँदै आएको छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरी स्थीत आवाडाँडामा रहेको कार्यालयले घरभाडामा आर्थिक वर्ष २०६८ देखी ७० सम्म ६० हजारका दरले, ७० देखी ७२ सम्म ६७ हजारका दरले, ७२ देखी ७५ सम्म १ लाख २० हजार, ७५ देखी ७९ सम्म र ७९ देखी ८१ सम्म एक लाख ४१ हजार एक सय भाडा तिर्दै आएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५७ हजार एक सय रुपैयाँ भाडा तिर्ने गरी सम्झौता गरेको छ ।
यस्तै कार्यालयले जिल्ला शाखा कार्यालयको गोदामका लागी हरेक वर्ष १८ हजार रुपैयाँ भाडा तिर्दै आएको छ भने हाल सम्म ९० हजार रुपैयाँ भुक्तानी गरेको छ । कार्यालयका अमिताभ कुमार यादवका अनुसार आफ्नै जग्गा भएता पनि मापदण्ड नपुग्दा आफ्नै भवन निर्माणका लागी समस्या भइरहेको छ । गत आर्थिक वर्षमा कार्यालयलाई भवन निर्माणका लागी एक करोड बजेट प्राप्त भएको भएपनि जग्गा पर्याप्त नहुँदा भाडा तिरेर बस्न बाध्य भएको उहाँको भनाई छ ।
Discussion about this post