असोज ७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट २१३ जना विद्यार्थीले कक्षा १२ को पूरक परीक्षा दिएका छन् । जेनजी आन्दोलनका कारण स्थगित गरिएको परीक्षा मंगलबारबाट पुनः सुरु भएको हो । सोलुदुधकुण्ड नगरपालिका–५, सल्लेरीमा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको थियो ।
केन्द्राध्यक्ष महाप्रसाद फुयालका अनुसार जिल्लाका विभिन्न विद्यालयका परीक्षार्थीहरूले पहिलो दिन १३ विषयको परीक्षा दिएका छन् । परीक्षा भदौ २८ र २९ गतेका लागि तोकिएको थियो, तर आन्दोलनको कारण स्थगित गरिएको थियो ।
अबको तालिका अनुसार, पहिलो दिन अनिवार्य अंग्रेजी, एक विषयमा मात्र पूरक परीक्षा दिने विद्यार्थीका सबै विषय, र दुई विषयमा परीक्षा दिने विद्यार्थीका सानो कोड भएका विषयको परीक्षा भएको छ । अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयमा परीक्षा दिने परीक्षार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन (बुधबार) नेपालीको परीक्षा दिनेछन् ।
दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीका लागि भोलि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको र विद्यार्थीहरूको उपस्थिति सन्तोषजनक रहेको केन्द्रले जनाएको छ ।
 
			 
                                









 
                                
Discussion about this post