असोज ११, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा ५८२ जना लाभग्राहीले सेवा लिएका छन् । ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीको गाउँमै पुगेर सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा रु एक करोड एक लाख ६३ हजार बराबरको सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । गाउँपालिकाले चाडपर्वको पूर्वसन्ध्यामा गाउँमै शिविर आयोजना गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेपछि लाभग्राहीसमेत हर्षित भएका छन् ।
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका १७८ जनालाई रु ३८ लाख २१ हजार, वडा नं २ रतन्छाका १२३ जनालाई रु १८ लाख ५८ हजार, वडा नं ३ खिदिमाका ८८ जनालाई रु १३ लाख ३७ हजार वितरण गरिएको छ । यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका ७९ जनालाई १२ लाख ५९ हजार र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका ११४ जना लाभग्राहीलाई १८ लाख ८८ हजार वितरण गरिएको हो । कतिपयले बैंकको मानेभञ्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् ।
Discussion about this post