असोज ११, सोलुखुम्बु । स्वास्थ्य कार्यालय सोलुखुम्बुले गत आर्थिक वर्ष २०८१/८२ को समीक्षा तथा चालु आर्थिक वर्षको योजना तर्जुमा सम्पन्न गरेको छ । कार्यालयले गत मङ्गलबार र बुधबार वार्षिक समीक्षा सम्पन्न गरेको हो । समीक्षाका क्रममा स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन तथा स्पष्ट निती र सेवा प्रवाह गर्ने पालिकाहरूलाई प्रमाणपत्र सहित सम्मानित समेत गरिएको छ । जिल्ला स्तरीय स्वास्थ्य समीक्षाका क्रममा सोलुदुधकुण्ड नगरपालिका प्रथम भएको थियो ।
गत असोज ७ गते र ८ गते २ दिन सम्पन्न समीक्षाका क्रममा जिल्लाभरका पालिका मध्ये सोलुदुधकुण्ड नगरपालिका प्रथम बनेको हो । यस्तै नेचासल्यान गाउँपालिका जिल्लाभरको स्वास्थ्य क्षेत्रमा काम गर्ने दोश्रो अव्बल पालिका बनेको छ । भने महाकुलुङ गाउँपालिका तेश्रो बनेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गरेको हो । समिक्षामा अव्बल बनेका पालिकाहरू तथा अन्य पालिकाहरूलाई स्वास्थ्य सबैभन्दा संवेदनशिल क्षेत्र भएकाले यस क्षेत्रमा संवेदनशीलता अपनाएर काम गर्न र भएका कमी कमजोरीहरुलाई सुधार गर्दै अगाढी बढ्न प्रेरित गरिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
समीक्षाका क्रममा कार्यालयले आगामी रणनीति बनाएको छ । कार्यालयले बनाएको रणनीतिहरू मध्ये आगामी वार्षिक समिक्षालाई चुस्त दुरुस्त बनाउन तथ्याङ्क प्रस्तुतिकरण एक हप्ता अघिनै स्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने अनिवार्यता अघि सारेको छ । यस्तै औषधी खरिदमा हुने अनियमितता तथा अस्तव्यस्ततालाई ध्यानमा राख्दै असोज २५ भित्र स्वास्थ्य कार्यालयमा औषधी खरिदको कार्यक्रम कार्यालय मार्फत ल्याउनुपर्ने लगायत निर्णय गरेको छ ।
स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीको अध्यक्षता एवं स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बस्नेत तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको उपस्थितिमा समीक्षा कार्यक्रम सम्पन्न भएको थियो । समीक्षा पालिकाका स्वास्थ्य शाखाहरू, करुणा फाउण्डेसन तथा साझेदार संस्थाहरूको उपस्थितमा सम्पन्न भएको थियो ।
Discussion about this post