सोलुखुम्बु, असोज १२ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–वडा नं. २ मा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले तीन दिने स्वास्थ्य शिविर सुरु गरिएको छ । आईतबारदेखि सुरु भएको उक्त शिविर बेनी स्वास्थ्य चौकीमा सञ्चालनमा आएको हो ।
सोलुदुधकुण्ड नगरपालिकाको आयोजना, वडा नं. २ को सह–आयोजना, कुसुदेवु जनस्वास्थ्य अभियान नेपाल, काठमाडौँ र ‘विल्ड्नेस इन नेपाल अष्ट्रेलिया’को प्रायोजनामा सञ्चालित शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकको सहभागिता रहेको छ । शिविरमा स्त्रीरोग तथा गर्भवती महिला जाँच, हाडजोर्नी तथा नसा सम्बन्धी समस्या, मधुमेह परीक्षण, पेट रोग तथा ग्यास्ट्रिक उपचार, पाठेघरको मुखको क्यान्सरको भीआइए परीक्षण, पाठेघरमा रिङ पेसरी राख्ने सेवा, स्तन तथा शरीरमा देखिने गाँठाको परीक्षण, थाइराइड परीक्षण, सामान्य स्वास्थ्य परीक्षण, ल्याब सेवा, ईसीजी, भिडियो एक्स–रे सेवा तथा निःशुल्क औषधि वितरणजस्ता सेवा प्रदान गरिनेछ ।
शिविर उद्घाटनको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले शिविरबाट नगरवासीहरूले भरपुर लाभ लिन आग्रह गर्दै यस प्रकारका कार्यक्रमले समुदायमै स्वास्थ्य सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै वडाध्यक्ष ङवाङ ठिले शेर्पाले कार्यक्रमका आयोजक तथा सहकार्य गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । स्वास्थ्य शिविरमा संलग्न डा. स्यालेले यसलाई चौथो स्वास्थ्य शिविर भएको जानकारी दिँदै अष्ट्रेलियाबाट ठूलो संख्यामा चिकित्सक टोली आएको जानकारी दिनुभयो । शिविरको संयोजक छिरिङ शेर्पाका अनुसार यो शिविर असोज १६ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय बासिन्दाले निःशुल्क रुपमा विविध स्वास्थ्य सेवा पाउनु नगर क्षेत्रको लागि एक ठूलो अवसर भएको प्रतिक्रिया दिएका छन् ।
Discussion about this post