असोज १७, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले विशेष अवस्था बाहेक रातीको समयमा हिँडडुल नगर्न अनुरोध गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखी २० सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले एक सूचना जारी गर्दै रात्रिकालीन यात्रा विशेष अवस्था बाहेक नगर्न भनेको हो । त्यस बीचमा भारी वर्षात हुने भन्दै प्रशासनले जिल्लाका ८ ओटै स्थानीय तहलाई उच्च सतर्कता, सावधानी तथा प्रतिकार्यका लागी तयार रहन भनेको हो ।
प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जारी गरेको सूचनामा स्थानीय तहहरुलाइ जोड्ने सडकहरूको अवस्था हेरी बिग्रीएको भए सञ्चालन गर्ने व्यवस्था मिलाउन, बाढी पहिरोको जोखिम रहेका नदी किनारका बस्ती तथा गाउँहरूमा उच्च सतर्कता अपनाउने र जोखिम हेरेर सुरक्षित स्थानमा सार्ने, स्थानीय तहहरु, ३ वटै सुरक्षा निकाय, रेडक्रस लगायतका स्वयंसेवी संस्थाहरूलाई उद्धार तथा राहतमा तम्तयार रहन तथा लिड क्लस्टर र को लिड क्लस्टरहरुले विपद प्रतिकार्यका लागी बनाइएको स्वीकृत योजना अनुरूप तयारी अवस्थामा रहन भनिएको छ । मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखी २० सम्म सोलुखुम्बु सहित देशका धेरै जिल्लाहरूमा भारी वर्षात सहित बाढी पहिरोको अनुमान गरेपछि अहिले प्रशासन सहितका सम्बद्ध निकायहरूले तदारुकताका साथ विपदको सम्भावित जोखिमलाई हेरेर काम गरिरहेका छन् ।
Discussion about this post