असोज २२, सोलुखुम्बु । हिमाली तथा पर्यटकीय नगरी लुक्लामा गरिएको बजार अनुगमनका क्रममा ३ लाख २६ हजार रुपैयाँभन्दा बढी मूल्यका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको अगुवाइमा गरिएको अनुगमनका क्रममा लुक्ला बजारका विभिन्न होटल, पसल तथा किराना व्यवसायबाट म्याद गुज्रिएका तथा उपभोगका लागि अयोग्य वस्तु बरामद गरिएको हो।
गाउँपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण टोलीले लुक्ला क्षेत्रका ४१ वटा होटल तथा पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ५२ प्रकारका तयारी खाद्य तथा अन्य उपभोग्य सामग्री म्याद गुज्रिएको अवस्थामा फेला परेको गाउँपालिकाले जनाएको छ।
पर्यटकीय गतिविधिका कारण वर्षभरि नै चहलपहल रहने लुक्ला क्षेत्रमा ठूलो परिमाणमा अखाद्य वस्तु फेला पर्नु उपभोक्ता तथा व्यवसायी दुवैका लागि गम्भीर विषयका रूपमा हेरिएको छ। विशेषगरी पर्यटकीय सिजन तथा चाडपर्वको समयमा बजारमा हुने सम्भावित गैरकानुनी गतिविधि नियन्त्रण तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।
बरामद गरिएका अखाद्य सामग्री नष्ट गरिएको छ। गाउँपालिकाले बजार अनुगमनलाई लुक्लामा मात्र सीमित नराखी नाम्चेलगायतका अन्य बजार क्षेत्रमा समेत निरन्तरता दिने जनाएको छ।
गाउँपालिकाको प्रशासन शाखा प्रमुख मञ्जुश्री शर्मा निरौलाका अनुसार बजारमा अखाद्य तथा म्याद गुज्रिएका सामग्रीको बिक्री वितरण रोक्न र उपभोक्ताको हित संरक्षण गर्न आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइनेछ।










Discussion about this post