असोज २२, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो क्षेत्रबाट फर्कने क्रममा बेपत्ता भएका एक चिनियाँ पर्यटकको शव अत्यन्तै जटिल र विकट भौगोलिक खोचबाट फेला पारी निकालिएको छ। छिमेकी मुलुक चीनका नागरिक चेन छियान गोक्यो क्षेत्र भ्रमण गरी फर्कने क्रममा हराएपछि खोजी तीव्र पारिएको थियो।
नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरूको संयुक्त टोलीले खोजी गर्ने क्रममा यही असोज २० गते उनको शव फोर्चे क्षेत्रस्थित थाङ्गे भीरबाट करिब पाँच सय मिटर तल विशाल चट्टानी खोचमा लडेर मृत अवस्थामा फेला पारेको हो। हेलिकप्टरबाहेक अन्य माध्यमबाट उद्धार कार्य गर्न लगभग असम्भव मानिएको उक्त गहिरो र जटिल चट्टानी खोचबाट सुरक्षाकर्मी तथा स्थानीय आरोही (क्लाइम्बर) हरूको विशेष पहलमा शव सुरक्षित स्थानमा निकालिएको छ।
अत्यन्त जोखिमपूर्ण अवस्थाका बाबजुद ज्यानको बाजी लगाएर शव उद्धार गर्न सफल भएको भन्दै जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुका तर्फबाट प्रमुख जिल्ला अधिकारीले फिल्डमा खटिएका नेपाली सेना र नेपाल प्रहरीका सकल दर्जाका सुरक्षाकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्दै उच्च सम्मान प्रकट गर्नुभएको छ। हाल शवको आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने, काठमाडौँ लगेर परीक्षण (पोस्टमार्टम) गर्ने तथा सम्बन्धित देशमा पठाउने कार्यको तयारी भइरहेको प्रशासनले जनाएको छ।










Discussion about this post