असोज १७, सोलुखुम्बु । सङ्खुवासभामा एक शिक्षक माथि खुकुरी प्रहार भएको छ । जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा आफन्तको खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । माङ्तेवामा गएराति स्थानीय जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरुले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएपनि डाक्टरले उपचार गर्न नसक्ने जनाएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको छ । सामान्य विषयमा उनीहरुबीच विवाद भएको र विवाद पछि शिक्षक राई माथि जाँडरक्सी सेवन गरेका फुपुका छोरा सुरेन्द्र राई र एक नाबालक (अमिर राई) ले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ । खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्छ ।
Discussion about this post