असोज १७, सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८२/८३ मा करिव ४ हजार पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेका छन् । विश्वकै आकर्षक र पहिलो रोजाईमा पर्ने पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रको भ्रमणका लागी पछिल्लो ३ महिनामा ४ हजार पर्यटक सगरमाथा क्षेत्र अवलोकन तथा भ्रमणका लागी आएका हुन । सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार साउन भदौ र असोज महिनाको १० गते सम्म ३ हजार ४ सय ९९ पर्यटक सगरमाथा क्षेत्र आइपुगेका हुन् । निकुञ्जका सूचना अधिकारी विवेक बैजुका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ सय ५४, भाद्र मा १२ सय ७८ र असोज महनिाको १० गते सम्म मात्रै १९ सय ६७ ले सगरमाथा क्षेत्र प्रवेशका लागी अनुमति लिएका हुन् ।
मौसम प्रतिकुलताका कारण शरदिय ऋतुमा पर्यटकहरुको आवागमनमा समस्या भइरहेको अवस्थामा मौसम खुलेको बेला पर्यटकहरू हवाई मार्ग भएर लुक्ला पुग्ने गरेका छन् । विदेशी पर्यटक आवागमनबाट कार्यालयले करिव ८३ लाख ६९ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये साउन महिनामा विदेशी नागरिकबाट प्रवेश शुल्क मार्फत ४ लाख ८९ हजार राजस्व संकलन गरेको छ । यस्तै सार्क राष्ट्रका नागरिकबाट ५२ हजार ५ सय र नेपालीबाट ५६ सय गरि साउन महिनामा ५ लाख ४७ हजार राजस्व संकलन गरेका छ ।
यस्तै भदौ महिनामा विदेशी नागरिकबाट २९ लाख ४० हजार, सार्क राष्ट्रका पाहुनाहरुबाट २ लाख २ हजार ५ सय र नेपालीहरूबाट १६ हजार ३ सय गरि ३१ लाख ५८ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै असोज महिनामा विदेशी पर्यटकबाट ४२ लाख ३६ हजार, सार्क राष्ट्रका पर्यटकबाट ३ लाख ९९ हजार र नेपालीबाट २८ हजार ९ सय गरि ४६ लाख ६३ हजार ९ सय राजस्व संकलन भएको छ ।
Discussion about this post