सोलुखुम्बु, असोज २० । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३, फलामखानीमा आइतबार बिहान गएको पहिरोले एक स्थानीयको घर पूर्णरूपमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पहिरोका कारण घरभित्र रहेका एक राँगा र चारवटा बाख्रा पुरिएर मृत्यु भएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईका अनुसार स्थानीय प्रबिण बिकको टिनको छानो र काठले बनेको दुईतले घरमाथिबाट करिब १० मिटर उचाइबाट पहिरो खस्दा घर पूर्ण रूपमा भत्किएको हो। “घरको तल्लो तलामा बाँधेर राखिएका राँगा र बाख्रा पहिरोले पुरिँदा ज्यान गुमाएका छन्।
तर अन्य मानवीय क्षति भने भएको छैन,” प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो। घटना जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी तामाखानीबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थल पुगेर विस्तृत विवरण संकलन गरेको छ। हाल सो क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले थप सावधानी अपनाउन प्रहरीले स्थानीयवासीलाई आग्रह गरेको छ।
Discussion about this post