असोज २०, सोलुखुम्बु । सोलुखुम्बुको मेरा पिक क्षेत्रमा हराएका दुई पर्वतारोहीमध्ये कोरियन नागरिक तेजुङ पार्क मृत अवस्थामा फेला परेका छन् भने उनका साथमा रहेका नेपाली शेर्पा गाइड तेम्बा शेर्पा सकुशल उद्धार गरिएका छन्। नेपाल नेसनल माउन्टेन गाइड्स एसोसिएसनका अध्यक्ष तुलसीसिंह गुरुङका अनुसार, घटना शनिबारको हो।
मौसम अत्यधिक खराब भएपछि ४६ वर्षीय कोरियन नागरिक पार्क र नेपाली गाइड शेर्पा सम्पर्कविहीन भएका थिए। नेपाल पर्वतारोहण संघको पहलमा उद्धारका लागि आइतबार काठमाडौंबाट हेलिकप्टरमार्फत अन्तर्राष्ट्रिय स्तरका दुई पर्वतीय गाइड रितेन तासी शेर्पा र अशिष गुरुङलाई खटाइएको थियो। उद्धार टोलीले सोमबार करिब ५,८०० मिटर उचाइबाट कोरियन आरोहीको शव फेला पार्दा नेपाली गाइड तेम्बा शेर्पालाई भने सकुशल उद्धार गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार, हिमपात भएपछि एउटै स्थानमा रोकिएका बेला हाइपोथर्मियाका कारण कोरियन आरोहीको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ। पीडितहरूले मेरा पिकको शिखर सफलतापूर्वक आरोहण गरिसकेर फर्कंदै गर्दा दुर्घटनामा परेका थिए। उद्धार कार्यमा सहभागी रितेन तासी शेर्पा र अशिष गुरुङ दुवै अनुभवी तथा अन्तर्राष्ट्रिय प्रमाणित पर्वतीय गाइड हुन्। उनीहरूलाई संघले विशेष व्यावसायिक उद्धार अभियानका लागि खटाएको थियो।
Discussion about this post