असोज २२, सोलुखुम्बु । खोटाङमा सञ्चालन गरिएको ‘दशैतिहार चेलीलाई उपहार’ अभियान अन्तर्गत यस वर्षको दशैंमा ४३६ जना छोरीचेलीले निशुल्क यातायात सेवा प्राप्त गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तथा सवारीसाधनको पहुँच नपुगेका महिलाहरूलाई लक्षित गर्दै यो सेवा प्रदान गरिएको हो । दशैँ टीका परेको १६ असोजदेखि १९ असोजसम्म सञ्चालन गरिएको यो अभियान अन्तर्गत जिल्लाभित्र झण्डै ३५ किलोमिटरसम्मको दुरीमा घरदेखि माइती र माइतीबाट घरसम्म ल्याउने–लैजाने सेवा दिइएको अभियान संयोजक सन्जय कुमार राईले जानकारी दिनुभयो।
सेवा प्रदान गर्न ‘टीम दिक्तेल’ ले दुईपाङ्ग्रे सवारीसाधन प्रयोग गरी २०५ जनालाई, चारपाङ्ग्रे सवारीबाट ९० जनालाई सेवा दिएको छ। ‘टीम हलेसी’ मार्फत २३, ‘टीम केपिलासगढी’ बाट ७५, ‘टीम दिप्रुङ’ बाट २१ र ‘टीम रावाबेसी’ बाट २२ जना महिलालाई सेवा दिइएको हो । सेवाका लागि निजी ६६ वटा दुईपाङ्ग्रे तथा शुभम फाउण्डेशनको एकवटा चारपाङ्ग्रे सवारीसाधन प्रयोग गरिएको थियो। अभियान सञ्चालनका लागि दिक्तेलस्थित किरातचोकमा सचिवालय स्थापना गरेर सेवाग्राहीको विवरण संकलन गरिएको थियो।
यस अभियानको सफल सञ्चालनका लागि हलेसीमा रम्बोहाङ राई, दिप्रुङमा आदेश थापा, रावाबेसीमा बिशाल राई, र केपिलासगढीमा सबिन थुलुङ संयोजक तोकिएका थिए। युवाहरूको यस समूहले तिहारमा पनि कार्तिक ५ गतेदेखि ७ गतेसम्म अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दशैं र तिहार दुबै पर्वलाई लक्षित गर्दै यो वर्ष १ हजार छोरीचेलीलाई सेवा दिने लक्ष्य लिइएको छ। गतवर्ष भने ५०० हाराहारीमा महिलाहरूले सेवा लिएका थिए।
Discussion about this post