असोज २४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता एवं गायक तथा नृत्य प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सहइन्चार्ज असिम राईको प्रमुख आतिथ्यतामा वडा नम्बर ७ देउसामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो । वाइसिएल नेपाल वडा समिति देउसाको आयोजनामा सुरु भएको प्रतियोगितामा पुरुष तर्फ १८ टिमको सहभागी रहेको छ भने महिला तर्फ १० टिमले प्रतिष्पर्धा गर्ने छन् ।
गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीका अनुसार भलिवल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ४० हजार, ३० हजार र २० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै गायन तथा नृत्य तर्फ ७ हजार, ५ हजार र ३ हजार पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष असिम राईले युवाहरूको जोस र जाँगरको सदुपयोग गरि खेल तथा विधागत क्षेत्रमा सफलता हासिल गर्न सकिने भन्दै युवाहरुको प्रोत्साहनका लागी गाउँपालिकाले युवामैत्री कार्यक्रमहरूको कार्यान्वयन गरिरहेकोमा जोड दिनुभयो ।
खेल उद्घाटनका लागी गाउँपालिका अध्यक्ष असिम राई सहित वडा अध्यक्षहरू, खेलाडी, विद्यार्थी, तथा स्थानीयहरुको उपस्थीति रहेको थियो । नेपालीहरुका ठूला चाड बडादसैँ शुभदिवाली छठ तथा उभौलिको अवसरमा शुभकामना आदानप्रदान सहित खेल क्षेत्रको विकासका लागी प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
Discussion about this post