असोज २५, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका वडा नं. १ हरमटारमा आर्थिक बर्ष २०८२/०८३ को त्रैमासिक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय खोटाङ र रावावेशी गाउँपालिकाको संयुक्त सहकार्यमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रहरी र नागरिकबीचको आपसी सम्बन्ध सुदृढ गर्ने विषयमा विशेष छलफल भएको थियो। साथै, आउँदो दीपावली र छठ पर्वको सन्दर्भमा हुन सक्ने चोरी, लुटपाट, पटका तथा विष्फोटजन्य घटनाहरूको न्यूनीकरण तथा रोकथाम सम्बन्धी सुरक्षाका उपायहरूबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा विगतमा घटेका घटनाहरूको अनुसन्धान प्रक्रिया, सुरक्षा व्यवस्थाको समग्र अवस्था, नागरिकहरूको गुनासो, सामूहिक रूपमा उठेका प्रश्नहरू, सुझाव तथा सरोकारका विषयहरूमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, रावावेशी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडा अध्यक्षहरू, सरकारी तथा गैर–सरकारी निकायका कर्मचारी, कार्यपालिका सदस्यहरू, स्वास्थ्य स्वयंसेविकाहरू, बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
Discussion about this post