असोज ३०, सोलुखुम्बु । नेपालीहरुको महान पर्व शुभदिपावलीलाई लक्षित गर्दै उदयपुरको ताप्ली गाउँपालिकाले स्थानीय बजारमा अनुगमन कार्य सुरु गरेको छ । उपभोक्ताहरूलाई सुरक्षित तथा गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले अनुगमन कार्य अघि बढाएको हो । अनुगमन समितिका संयोजक समेत रहनुभएकी गाउँपालिका उपाध्यक्ष धनामाया मगरले ठूला व्यापारीहरूबाट अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरूको बिक्री वितरण हुने गरेको पाइएकाले यस्ता गतिविधि न्यूनीकरण गर्न अनुगमन थालिएको जानकारी दिनुभयो ।
अनुगमनको पहिलो दिन ताप्ली–५ अन्तर्गतको रुपाटारको कुमालटार बजारमा सञ्चालनमा रहेका किराना पसल, होटल तथा औषधि पसलहरूको अनुगमन गरिएको थियो । सहकर्मी ठविन्द्र मगरका अनुसार रुपाटार र कुमालटार क्षेत्रमा सञ्चालित १० वटा किराना पसल, ७ वटा जेनेरल स्टोर, ४ वटा होटल र २ वटा मेडिकल पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही पसलहरूमा म्याद गुज्रिएका खाद्य सामग्रीहरू फेला परेका छन्।
अनुगमन टोलीले ती सामग्री तत्काल बिक्री वितरण र प्रयोग नगर्न चेतावनी दिएको छ । साथै, उपभोक्तालाई सामग्री खरिद गर्दा उत्पादन तथा म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गर्न पनि आग्रह गरिएको छ । अनुगमन कार्यमा गाउँपालिका उपाध्यक्ष धनामाया मगर, अनुगमन समितिका सदस्य चक्रबहादुर राई, वडा नं. ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार मगर तथा प्रहरी चौकी रुपाटारका प्रहरी सहायक निरीक्षक देवीप्रसाद धिमालको सक्रिय सहभागिता रहेको थियो ।
Discussion about this post