कार्तिक १, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आजदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुभ दीपावली र छठ पर्वको अवसरमा शनिबारबाट उक्त प्रतियोगिता सुरु भएको हो ।
लिखुपिके गाउँपालिकाको आयोजनामा हिमगंगा माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गाउँपालिका क्षेत्रका सात टिमहरूले सहभागिता जनाएका छन् । खेलकुदमार्फत युवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्नु, आपसी मित्रता सुदृढ गर्नु र सशक्त समाज निर्माणमा योगदान पुर्याउनु प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम आज बिहान भव्य रूपमा सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा प्रथम हुने टोलीले नगद ८५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टोलीले ६०,०००, तृतीय टोलीले र ४०,००० र सान्त्वना टोलीले २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, वेस्ट डिफेन्डर, वेस्ट सेटर र वेस्ट स्पाइकरलाई पनि नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेलहरू विद्यालयको खेलमैदानमा दैनिक सञ्चालन हुनेछन् । आयोजकले प्रतियोगिता सफल बनाउन सम्पूर्ण पक्षको सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरेको छ । प्रतियोगिताको समापन आगामी तीन दिनपछि विजेता घोषणा तथा पुरस्कार वितरण गरिनेछ ।
Discussion about this post