असोज ७, शुक्रबार । सोलुखुम्बुमा विहीबार साँझ भएको दुर्घटनामा मृतक तथा घाइतेहरू सबै महाकुलुङ गाउँपालिकाकै रहेको खुलेको छ । विहीबार साँझ जिल्लाको महाकुलुङ गाउँपालिकाका लागी माप्य दुधकोशी गाउँपालिकाबाट छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ को भिरकुनामा दुर्घटना भएको थियो । उक्त गाडीमा सवार चालक सहित अन्य सबै महाकुलुङ गाउँपालिकाकै बासिन्दा रहेको खुलेको हो ।
भिरकुनाबाट ब्रेक फेल भएर दुर्घटना भएको बोलेरो गाडी सडकबाट अन्दाजी ६ सय मिटर तल खसेको थियो । जीपमा सवार ११ मध्ये ३ जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेहरुमा महाकुलुङ थाउँपालिका वडा नम्बर ३ छेस्कामकी १६ वर्षिय हवी राई, सोही ठाउकी २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहुनेहरु माहकुलुङ ३ का ३२ वर्षिय श्रीध्वज राई, ४ की १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई र सजना राई र १० वर्षीय उमेश राई रहेका छन् । जिपमा सवार ११ जना मध्ये २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका अनुसार घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने मृतकहरूको शव महाकुलुङ अस्पताल पठाइएको छ ।










Discussion about this post