कार्तिक ८, साेलुखुम्बु । म एक १९ वर्षको जेन जी । २१ औँ शताव्दीको सुरुवातमा धरतीमा पाइला टेकेर आएको चेतनशील युवा । तर म अहिलेको समाजलाई हेर्छु, सुन्छु, महसुस गर्छु अनि मन भित्र अनेकन प्रश्नहरू उठ्छन्, तर ति सबै प्रश्नहरुबाट पनि एउटा मुख्य पश्नले पिरोलिरहन्छ “आखिर यो किन?”
आखिर किन ? आजभोलि प्रेम झुटो जस्तो लाग्छ ? समाजका दृष्टिहरुले गिद्धलाई पनि गिज्याइरहेका छन् ? किन महिलाको, बेग्लै पहिचान बोकेका यौनिक अल्पशङख्यक, विधवाको, किशोरीको आवाज दबिन्छ ? यी सबै प्रश्नले मेरो मनमा ठूलो हलचल मच्चाउँछन्।
झुटो प्रेम र स्वार्थी दृष्टिकोण
आजको समाजमा पनि प्रेमलाई प्रायः गलत दृष्टिले हेरिन्छ । धेरैजसो पुरुषहरू निजी स्वार्थका लागि महिलाको भावनासँग खेल्छन्, झुटो प्रेम देखाएर उनको विश्वास र अस्तित्व चोर्ने प्रयास गर्छन्। महिलाले जब कुनै पुरुषमाथि आफ्नो मन खोल्छिन्, त्यो सामान्य कुरा होइन। त्यो उनको जीवन, सपना र विश्वास सुम्पने क्षण हो। तर त्यही समयमा कतिपय पुरुषहरूले गलत नजरले हेर्छन्, असल नारीको इज्जतमा दाग लगाउने प्रवृत्ति देखाउँछन्। आखिर यस्तो किन?
यौनिक अल्पसङ्ख्यक प्रतिको विभेद
काठमाडौँ जस्तो सहरमा पनि यौनिक अल्पशङख्यक व्यक्तिहरू समाजबाट अपहेलित छन्। गाडी चढ्न नदिने, बाटोमा हेला गर्ने, कुदृष्टिले हेर्ने यस्ता व्यवहार अझै व्याप्त छन्। मानव शरीर प्रकृतिको देन हो कसैले मागेर वा चाहेर बनेको हैन भन्ने सबैलाई थाहा छ तर त्यही आधारमा कसैको चरित्रमाथि प्रश्न उठाउने अधिकार कसैसँग छैन । तर अझै पनि उनीहरूलाई समाजले “अर्को” भनेर पन्छाइरहेको छ। आखिर यो किन?
महिनावारीमा महिलाप्रति अपहेलना
महिनावारी महिला जीवनको स्वाभाविक प्रक्रिया हो। यस समयमा महिलाहरू शारीरिक र मानसिक रूपमा संवेदनशील हुन्छन्। यिनलाई समर्थन र बुझाइ चाहिन्छ। तर हाम्रो समाजमा यसै बेला उनीहरूलाई रसोई, मठ–मन्दिर वा सामाजिक स्थानबाट टाढा राखिन्छ। उनीहरूको भावनालाई बुझ्ने सट्टा, हामी उनीहरूलाई बेवास्ता गर्छौं। यो प्राकृतिक कुरा हो, तर व्यवहार किन अपमानजनक? आखिर किन?
विधवा महिलाको पीडा
जब कुनै महिला विधवा बन्छिन्, उनको जीवनमा दुःखको नयाँ अध्याय सुरु हुन्छ। सहारा चाहिने समयमा उनीहरू आफन्तबाटै अपहेलित हुन्छन्। “विधवा” भन्ने शब्द नै समाजले उनीमाथि बोझको रूपमा थोपर्छ। घर–परिवार र समाजले मानसिक दबाब दिन्छ, आरोप लगाउँछ, सपना चकनाचुर पार्छ। कानुनले महिला–पुरुष समानताको कुरा गर्छ, तर व्यवहारमा त्यो देखिँदैन। के यो समानता लागू भएको छ?
नारीको असुरक्षा र राज्यको मौनता
विज्ञान र प्रविधिको युगमा पनि महिला अझै असुरक्षित महसुस गर्छन् । सार्वजनिक स्थानमा हिंड्दा उनीहरूले सयपटक सोच्नुपर्छ। बलात्कारका घटनाहरू बारम्बार हुन्छन्, पीडितले न्याय पाउँदैनन्। निर्मला पन्त प्रकरण आज पनि हाम्रो चेतनामा प्रश्न बनेर बाँकी छ । न्याय खै? राज्य खै? प्रहरी प्रशासन खै?
स्तनपानमा सामाजिक असहजता
सार्वजनिक स्थानमा स्तनपान गराउँदा महिलालाई अझै असहज वातावरण सिर्जना गरिन्छ । खराब नियत भएका व्यक्तिको दृष्टिले मातृत्वलाई पनि अपमानित बनाइन्छ । स्तनपान बच्चाको अधिकार हो, तर हाम्रो समाजले यसलाई खुला रूपमा स्वीकार गर्न अझै हिचकिचाउँछ । कतिपय सरकारी कार्यलय, सार्वजनीक सवारी, सार्वजनिक स्थलमा पनि स्तनपान कक्ष छैनन्। यो राज्य र समाज दुवैको कमजोरी हो।
किशोरावस्थाको प्रेम र समाजको दृष्टि
किशोरावस्थामा विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वाभाविक प्रक्रिया हो । यो मानवीय विकाससँग जोडिएको वैज्ञानिक तथ्य हो। तर हाम्रो समाजले यसलाई गलत नजरले हेर्छ। किशोर–किशोरीले आफ्नो भावना परिवारसँग बाँड्न नपाउँदा मानसिक दबाब, आत्महत्या, अविश्वासजस्ता गम्भीर परिणाम देखिन्छन्। प्रेमलाई बिग्रिएको होइन, बुझ्नुपर्ने भावनात्मक यात्रा भनेर समाजले हेर्नुपर्छ। आखिर किन..?
निष्कर्षः
- प्रश्न मात्र होइन, उत्तर पनि खोज्नुपर्छ
यी सबै प्रश्नहरू झुटो प्रेमदेखि महिनावारी, विधवा पीडा, तेस्रो लिङ्गी अधिकार, स्तनपानदेखि किशोर प्रेमसम्म एउटै तर्कमा जोडिन्छन्। समाजमा धेरै कुरा प्राकृतिक र मानवीय छन्, तर हाम्रा दृष्टिकोण, संस्कार र व्यवहारले तिनलाई गलत रूपमा चित्रण गर्छ।
अब प्रश्न मात्र होइन, उत्तर पनि खोज्नुपर्छ । चेतना र शिक्षामा सुधार, कानुनी कार्यान्वयन, परिवार र समाजबीच खुलेर संवाद, र प्रत्येक व्यक्तिप्रति मानवीय दृष्टि आवश्यक छ। तबमात्र “आखिर यो किन?” भन्ने प्रश्नको उत्तर पाउन थालिन्छ ।
लेखकः सुप्रभात ढकाल “सुप्रात्मा”
स्थानः काठमाडौ











Discussion about this post