कार्तिक २०, सोलुखुम्बु । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा सञ्चालनमा आएको पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विगत दुई वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रमले विद्यालयस्तरका विद्यार्थीको स्वास्थ्य र पोषणस्तरमा सुधार ल्याएको जनाइएको छ । हाल गाउँपालिकाभित्रका करिब ३१ सय विद्यार्थीले नियमित रूपमा पोषणयुक्त दिवा खाजा पाउँदै आएका छन् ।
कल्स ओभर रिजेज नेपाल काठमाडौं, बी ग्लोबल फाउण्डेशन र खिजीदेम्बा गाउँपालिकाको सहकार्यमा कार्यक्रम निरन्तरता पाइरहेको हो । गाउँपालिकाका विद्यालयलाई जङ्क फुडमुक्त विद्यालय बनाउने उद्देश्यसहित यो कार्यक्रम लागू गरिएको हो । कोशी प्रदेशमै पहिलोपटक खिजीदेम्बा गाउँपालिकाबाट पोषणयुक्त दिवा खाजा कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष ४ वटा विद्यालयमा सुरु गरिएको कार्यक्रम अहिले गाउँपालिकाका सात वटा माविमा विस्तार गरिएको छ । कार्यक्रमका लागि आर्थिक सहयोग लण्डनस्थित बी ग्लोबल फाउण्डेशनले कल्स ओभर रिजेज नेपालमार्फत गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
बी ग्लोबल फाउण्डेशनको सहयोगमा सन् २०१५ देखि गण्डकी प्रदेशमा सुरु भएको पोषणयुक्त खाजा कार्यक्रम बागमती हुँदै अहिले कोशी प्रदेशको ओखलढुंगासम्म विस्तार भएको हो । खाजा कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी दैनिक ३० रुपैयाँ लागत निर्धारित गरिएको छ । जसमा सहयोगी संस्था बी ग्लोबल फाउण्डेशनले २० रुपैयाँ, गाउँपालिकाले ५ रुपैयाँ र अभिभावकले ५ रुपैयाँ वहन गर्ने व्यवस्था गरिएको छ । विद्यालय खुल्ने ६ दिनका लागि फरक–फरक मेनु तय गरिएको छ र गाउँमै उत्पादन भएका अर्गानिक खानेकुरा प्रयोगमा ल्याइएका छन् ।
अध्यक्ष शेर्पाले कार्यक्रमले विद्यार्थीको पोषणस्तर वृद्धि गर्नुका साथै गाउँमै उत्पादित खानेकुराको खपत बढाउने र विद्यालयहरूलाई जङ्क फुडमुक्त बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष शेर्पाले दिवा खाजा खुवाउनु तीनै तहका सरकारको दायित्व रहेको उल्लेख गर्दै यसलाई दीर्घकालीन कार्यक्रमका रूपमा अगाडि बढाइने प्रतिवद्धता जनाउनुभएको छ ।










Discussion about this post