कार्तिक २०, सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम कांग्रेस पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले हालसालै नेपालका विभिन्न हिमाल क्षेत्रमा गएको हिमपहिरोमा फसेका स्वदेशी तथा विदेशी नागरिकहरूको तत्काल उद्धारका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिकूल मौसमका कारण हिमाल क्षेत्रमा फसेका नागरिकहरूको उद्धार ढिलो भइरहेका समाचारहरू सार्वजनिक भइरहेका बेला नेता शेर्पाले एक विज्ञप्ति जारी गर्दै शीघ्र उद्धारका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको हो। उहाँले हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली कांग्रेस कार्यकर्ता मेरे कार्कीसहितका स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न र घाइतेहरूको उपचारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
विज्ञप्तिमा उहाँले भन्नुभएको छ, “ हिमपहिरोमा परि उद्वारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकहरुको यथाशीघ्र उद्वार गर्न र वेपत्ता भएकाहरुको तत्काल खोजी गरि अवस्था पत्ता लगाउनका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ” ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शेर्पाले यस कठिन परिस्थितिमा उद्धार, राहत र समन्वयका लागि सम्बन्धित निकाय, संघसंस्था र सर्वसाधारण सबैलाई सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।











Discussion about this post