कार्तिक २०, सोलुखुम्बु । खोटाङको केपीलासगढी गाउँपालिकाका दुई विद्यालयमा प्रविधि मैत्री कक्षा सञ्चालनमा ल्याइएको छ । डिजिटल ब्रिजेस फो नेपालसँगको साझेदारीमा पृथ्वी माध्यमिक विद्यालय, बाक्सिला र कुहुडाडा माध्यमिक विद्यालय, फेदीमा प्रविधि मैत्री कक्षा सञ्चालनमा ल्याइएको हो ।
आज एक विशेष समारोहबीच गाउँपालिका अध्यक्ष समिर राईले उक्त कक्षाको औपचारिक उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । उद्घाटन कार्यक्रमा बोल्दै अध्यक्ष राईले प्रविधिमैत्री कक्षा सञ्चालनले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने र सिकाइलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै आजको युग सूचना प्रविधिको युग रहेको भन्दै यस्ता कार्यक्रमले गाउँका विद्यार्थीहरूलाई पनि डिजिटल विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने बताउनुभयो ।
यस परियोजना अन्तर्गत विद्यालयहरूमा १६ थान ल्याप्टप १ वटा स्मार्ट बोर्ड लगायत डजिटल सिकाइ सामग्री उपलब्ध गराइएका छन् । यस्तै आयोजक डिजिटल ब्रिजेस फो नेपालका प्रतिनिधिहरूले ग्रामीण विद्यालयहरूमा प्रविधिमैत्री सिकाइ वातावरण विस्तार गर्ने आफ्नो लक्ष्य रहेको जानकारी दिनुभयो । विद्यालय प्रशासनले पनि उक्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रविधिको सदुपयोगमार्फत शिक्षण–सिकाइको स्तर उकास्ने प्रतिबद्धता जनाएको छ । यससँगै केपीलासगढी गाउँपालिकामा प्रविधिमैत्री शिक्षा अभियानले नयाँ गति लिने अपेक्षा गरिएको छ ।










Discussion about this post