कार्तिक २३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा गाई र भैंसीमा निःशुल्क खोप कार्यक्रम सुरु गरिएको छ । ‘खोरेतमुक्त प्रदेश बनाउने अभियान’ अन्तर्गत कोशी प्रदेश सरकारको सहकार्यमा सोलुखुम्बुका आठवटै स्थानीय तहमा एकै साथ आइतबारदेखि यो अभियान थालिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुको आयोजनामा सुरु गरिएको यस खोप अभियानमा सोलुदुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, लिखुपिके गाउँपालिका, सोताङ गाउँपालिका, नेचासल्यान गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका लगायत सबै स्थानीय तह समेटिएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका प्रमुख भिमलाल तामाङका अनुसार अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउने र कृषकहरूको आर्थिक सुरक्षामा टेवा पुर्याएउने उद्देश्य लिएको छ ।
कोशी प्रदेशको दीर्घकालीन योजना अनुसार प्रदेशभरि खोरेतमुक्त अभियान विस्तार गर्ने लक्ष्य राखिएको छ । यसै सन्दर्भमा इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा पनि तयारी तीव्र भइरहेको तामाङले जानकारी दिनुभयो । सोलुखुम्बुमा सुरु गरिएको निःशुल्क खोप कार्यक्रम आगामी मंसिर महिनासम्म निरन्तर सञ्चालन हुने भएको छ । यस अभियानबाट जिल्लाभरका हजारौं गाई–भैंसी लाभान्वित हुने अपेक्षा गरिएको छ ।











Discussion about this post