कार्तिक २७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका किसान अहिले धान भित्र्याउने कार्यमा व्यस्त छन् । खेतका बाली पहेंलपुर भएर पाकेपछि किसानहरू धान काट्ने र थन्क्याउने काममा व्यस्त भएका हुन् ।
केही दिनअघि लगातारको वर्षाका कारण काम रोकिए पनि अहिले मौसम सुधार भएसँगै किसानहरू फेरि खेतमै व्यस्त भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । सोलुखुम्बुमा आठवटा स्थानीय तह मध्ये खुम्बु पासाङल्हामु गाउँपालिकामा अत्यधिक चिसो र उचाइका कारण धानखेती हुँदैन भने बाँकी सातवटै स्थानीय तहका किसानहरू धानखेती गर्दै आएका छन् ।
तिहारलगत्तै धान काटेका केही कृषकको खेतमा बेमौसमी वर्षाका कारण धान उम्रिने अवस्था आए पनि पछिल्ला दिनमा मौसम खुल्दै गएपछि ठूलो क्षति नभएको जनाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी उपेन्द्र ठाकुरका अनुसार जिल्लामा हाल १ हजार दुई सय १६ दशमलब १४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यहाँका किसानहरूले दुधेमार्सी, ताइचिन, मकवानपुरे लगायत मोटा धानका जातका साथै केही मसिनो धानका जातहरू पनि लगाउने गरेका छन् ।











Discussion about this post