कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङमा स्वर्गीय देण्डी शेर्पाको स्मृतिमा आयोजित खेलकुद कार्यक्रमको उद्घाटन गरिएको छ । सेभेन समिट फाउण्डेशन र वडा कार्यालय–१० को संयुक्त आयोजनामा सुरु गरिएको उक्त कार्यक्रमको शुक्रबार उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै उपमेयर गान्धि माया तामाङले स्व. देण्डी शेर्पाले समाजका लागि पुर्याएको योगदानलाई स्मरण गर्दै आयोजनाले स्थानीय युवालाई खेलकुद तर्फ प्रेरित गर्ने बताउनुभयो । उहाँले टाप्टिङ क्षेत्रमा कार्यक्रमले सकारात्मक ऊर्जा र सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै सेभेन समिट फाउण्डेशनका अध्यक्ष एसी शेर्पाले स्वं देण्डी शेर्पाको स्मृतिलाई प्रेरणाको स्रोतका रूपमा लिँदै फाउण्डेशनले वर्षौंदेखि खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय रूपमा लगानी गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, स्व. शेर्पाको नाममा आयोजना गरिएको प्रतियोगिताले युवा पुस्तालाई अनुशासित, सक्रिय र समाजप्रति उत्तरदायी बनाउन थप योगदान पुर्याउनेछ । कार्यक्रमअन्तर्गत सुरु गरिएको खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा १७ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने टिमहरूलाई क्रमशः १ लाख ३१ हजार, ८१ हजार, ६१ हजार र ३१ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष होम बहादुर मगरले बताउनुभयो । त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट प्रशिक्षकलाई ५ हजार, र सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर तथा सर्भरलाई जनही ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।










Discussion about this post