कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुमा लगातार दुई आर्थिक वर्ष अलैँची उत्पादनमा कुनै उतार–चढाव देखिएको छैन । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी उपेन्द्र ठाकुरका अनुसार आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ दुवै वर्षमा अलैँची उत्पादन स्थिर देखिएको हो ।
कृषि ज्ञान केन्द्रका तथ्यांक अनुसार २०८१/०८२ मा जिल्लाभर १ सय ५८ हेक्टर क्षेत्रफलमा गरिएको अलैँची खेतीबाट १ सय ३४ दशमलव ५० मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै २०८२/०८३ मा १ सय ५८ दशमलव ९२ हेक्टर क्षेत्रफलमा अलैँची खेती भए पनि उत्पादन १ सय ५८ हेक्टर क्षेत्रफलबाट १ सय ३४ दशमलव ५० मेट्रिक टनमै कायम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खोल्साको ‘कालो सुन’ भनेर परिचित अलैँची जिल्लाका गोली, भकान्जे, चौलाखर्क, गुदेल, बुङ, सोताङ, अधेरी लगायतका स्थानमा व्यावसायिक रूपमा उत्पादन हुने गर्दछ । साथै गोली, भकान्जे, चौलाखर्क, बुङ, गुदेललगायतका क्षेत्रलाई तत्कालीन कृषि विकास कार्यालय सोलुखुम्बुको कार्यसमितिले अलैँची पकेट क्षेत्रको रूपमा घोषणा गरेको थियो । स्थानीय किसानहरू अलैँची खेतीप्रति आकर्षित हुँदै आएका छन्। उत्पादनमा स्थिरता देखिनुले अलैँची क्षेत्र विस्तारको सम्भावना अझै सुदृढ रहेको कृषि ज्ञान केन्द्रको निष्कर्ष छ ।











Discussion about this post