कार्तिक ३०, सोलुखुम्बु । सोलु हाइड्रोपावरको शेयर निष्कासनको विषयलाई लिएर नेचासल्यान गाउँपालिका जिल्ला प्रशासन कार्यालय पुगेको छ । गाउँपालिका अध्यक्ष धनजन राईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय आइपुगेको गाउँपालिकाले सोलु हाइड्रो पावरको शेयर निष्कासन विभेदकारी भएको भन्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र मार्फत गाउँपालिकाले शेयर निष्कासन गर्दा अति प्रभावित २ पालिका सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकालाई मात्रै समावेश गरिएको तर प्रभावित समेत नठानी नेचासल्यान गाउँपालिकालाई उपेक्षा गरिएको भन्दै गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ध्यानाकर्षण गराएको हो । गाउँपालिका अध्यक्ष धनजन राईले ध्यानाकर्षण पत्र बुझाउँदै गाउँपालिकालाई हिस्सामा नसमेटिए स्थिति असामान्य बन्न सक्ने चेतावनी समेत दिनुभएको छ ।
उहाँले हाइड्रोसँग समन्वय गरेर पालिकाका नागरिकको गुनासो र समस्या समाधान गरिदिन आग्रह गर्दै त्यसो नगरिए गाउँपालिकाका नागरिकको आक्रोशको सतह बढ्ने र सोको परिणाम अप्रिय हुने समेत चेतावनी दिनुभयो । ध्यानाकर्षण गराउनका लागी गाउँपालिका उपाध्यक्ष विना राई, वडा नम्बर ४ का अध्यक्ष इन्द्र बहादुर राई (शान्त), वडा नम्बर १ का अध्यक्ष रमेश राई, वडा नम्बर २ का अध्यक्ष सिताराम काफ्ले लगायत राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।











Discussion about this post