मंसिर ३, सोलुखुम्बु । जेनजी युनाइटेड मुभमेन्ट परिवर्तनले विभाजन, स्वार्थ र समूहगत झुण्डमा परेका जेनरेशन–जेड युवाहरूलाई एकजुट बनाउने उद्देश्यसहित दिक्तेलमा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बिहान ११ बजे ट्राफिक प्रहरी बिट परिसरबाट सुरु गरिएको शान्ति पदयात्राले दिक्तेल बजार परिक्रमा गर्दै हेलीप्याडमा समापन भएको थियो ।
त्यसपछि हेलीप्याडमै विभिन्न सन्देशमूलक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । कार्यक्रमको मुख्य आकर्षणमा खोकु–छिन्ताङ घटनाक्रम, माओवादी जनयुद्ध तथा वर्तमान जेनजी आन्दोलन समेत समेटिएको नाटकको मञ्चन रहेको आयोजकले जनाएको छ । युवामाथि बढ्दो विभाजन, व्यक्तिगत स्वार्थ र समूहगत झुण्ड प्रवृत्तिले शहीद तथा घाइतेहरूले देखेको सपना खेर जाने जोखिम बढेकाले देशलाई अन्यौलताबाट निकाल्ने अभियानका रूपमा कार्यक्रम सुरु गरिएको अभियन्ता मिरेश राईले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रममा नाटक, गायन, नृत्य र युवा अभिव्यक्तिका विभिन्न माध्यममार्फत राष्ट्रिय एकता, पारदर्शी नेतृत्व, सुशासन, न्याय तथा समग्र राष्ट्रहितमा आधारित विकासको सन्देश प्रवाह गरिएको थियो ।
जेनजी युनाइटेड मुभमेन्टले युवा पुस्ताबीच फैलिएको विभाजन अन्त्य गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकताको भावना प्रसारित गरिरहेको आयोजकहरूको भनाइ छ । दिक्तेलमा सम्पन्न कार्यक्रमलाई स्थानीय नागरिक, विद्यार्थी, व्यापारी तथा विभिन्न सामाजिक समूहले उत्साहपूर्वक स्वागत गरेका छन् । साथै मंसिर ३ गते भोजपुर बजारमा तथा अन्य जिल्लाहरूमा पनि यस्तै एकतामूलक कार्यक्रम विस्तार गरिने घोषणा आयोजकले गरेको छ ।











Discussion about this post