मंसिर ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को संयोजनमा गार्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको हो ।
महिला सशक्तीकरण र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखिएको १५ दिने आवासीय तालिममा देशभरबाट छनोट भएका २८ महिलाको सहभागिता वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल माउन्टेन एकेडेमीले सञ्चालन गरेको यस तालिममार्फत सहभागीहरूलाई पदमार्ग सम्बन्धी प्राविधिक ज्ञान, पर्यटक सुरक्षा, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवा गुणस्तरका सीपहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।
नेपालको हिमाली पर्यटनलाई अझ सुरक्षित, विश्वसनीय र समावेशी बनाउन मद्दत पुगिरहेको आयोजकले जनाएको छ । ट्रेकिङ क्षेत्रमा महिला सहभागिता विस्तार हुनु पर्यटन क्षेत्रको समावेशी विकासका लागि आवश्यक रहेको र यस्तो तालिमले महिलालाई आत्मविश्वासी, दक्ष र पेशागत रूपमा योग्य ट्रेकिङ गाइडका रूपमा स्थापित गर्न सहयोग पु¥याउने विश्वास बोर्डले जनाएको छ ।
बोर्डले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई विस्तार गर्दै समुदायमा आधारित पर्यटन र महिलाको आर्थिक सशक्तीकरणका लागि थप अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।










Discussion about this post