मंसिर ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमनलाई तिव्र पारेको छ । “नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता : स्वच्छ मासु, स्वस्थ समुदाय” भन्ने मूल नाराका साथ पशु सेवा शाखा र नगर प्रहरीको संयुक्त टोलीले आइतबार सल्लेरी बजार क्षेत्रमा व्यवसायिक रूपमा सञ्चालन भइरहेका मासु पसलहरूको निरीक्षण गरेको हो ।
बुधबार अनुगमनका क्रममा मासु उत्पादन, भण्डारण, सफाइ अवस्था तथा स्थानिय सरकारको मापदण्डअनुसार सेवाप्रदायकले अपनाउनुपर्ने न्यूनतम सुरक्षा मापदण्डहरूका बारेमा निरीक्षण तथा सुझाव प्रदान गरिएको थियो । नगरपालिकाले सर्वसाधारणले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु सेवा पाउनुपर्छ भन्ने उद्देश्यअनुसार अनुगमन अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
पशु चिकित्सक प्रवेश कुमार यादवका अनुसार सल्लेरीमा रहेका करिब ७ वटा मासु पसलहरूको अनुगमन गरिएको हो । उहाँले यस प्रकारका अनुगमनले व्यवसायीहरूलाई अझ जिम्मेवार र सचेत बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले आगामी दिनमा पनि नियमित अनुगमनमार्फत जनस्वास्थ्य संरक्षण तथा व्यवसायलाई व्यवस्थित बनाउने कार्य जारी रहने जनाएको छ ।











Discussion about this post