मंसिर ४, सोलुखुम्बु । सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र निर्धारणप्रति लिखुपिके गाउँपालिकाले आपत्ति जनाएको छ । नेपाल धितो बोर्डले कार्तिक २७ गते सार्वजनिक गरेको सूचना अनुसार सोलुखुम्बुको सीमित भूभागलाई मात्रै ‘प्रभावित क्षेत्र’ का रूपमा परिभाषित गर्दै प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) आवेदन खुलाएको बिषयमा गाउँपालिकाले आपत्ति जनाएको हो ।
गाउँकार्यपालिकाको कार्तिक ३० गते बसेको बैठकले सर्वसम्मत रूपमा निर्णय गर्दै सोलु हाइड्रोपावर कम्पनीको प्रभावित क्षेत्र निर्धारण विभेदपूर्ण भएको निष्कर्ष निकालेको हो । गाउँपालिकाले विगतमा सोलुखुम्बुमा सम्पन्न अन्य जलविद्युत् आयोजनाहरूका आईपीओमा सिंगो जिल्लालाई नै प्रभावित क्षेत्र मानिएको उदाहरण दिएर सोलु हाइड्रोपावरले नेचासल्यान गाउँपालिका (प्रत्यक्ष प्रभावित) तथा वातावरणीय प्रभाव पर्ने सम्पूर्ण स्थानीय तहलाई समेट्नुपर्ने माग अघि सारेको छ ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा सोलु हाइड्रोपावर, नेपाल धितो बोर्ड तथा समन्वयकारी निकाय जिल्ला प्रशासन कार्यालयलाई प्रभावित क्षेत्र निर्धारण तत्काल सच्याई सम्पूर्ण जिल्लालाई नै प्रभावित क्षेत्र कायम गरी पुनः सूचना प्रकाशित गर्न जोडदार माग गरिएको उल्लेख छ ।
यसैबीच, सोलुदुधकुण्ड नगरपालिका–११ ले प्रभावितका लागि छुट्याइएका ६० लाख कित्ता शेयरप्रति आफूहरूलाई आपत्ति नरहे पनि ‘अति प्रभावित’ का लागि तोकिएको ४० लाख कित्ता शेयरमा कुनै अवरोध स्वीकार्य नहुने चेतावनी दिएको छ ।
यता नेचासल्यान गाउँपालिकाले पनि सोलु हाइड्रोपावरको शेयर निष्कासन प्रक्रिया विभेदकारी भएको आरोप लगाउँदै कडा विरोध जनाएको छ । गाउँपालिकाका अनुसार प्रत्यक्ष असर पर्ने क्षेत्रलाई समुचित प्राथमिकता नदिइनुले स्थानीय अधिकार र हितविपरीत कार्य भएको छ । स्थानीय तहहरूको आपत्ति पछि सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र निर्धारणसम्बन्धी विवाद थप चर्किएको छ । अब धितो बोर्ड, कम्पनी र प्रशासनले कसरी समाधान निकाल्छन् भन्ने कुरामा स्थानीयवासीको ध्यान केन्द्रित भएको छ ।










Discussion about this post