मंसिर ४, सोलुखुम्बु । सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गका लागि चालु तर्फ १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ र पूँजीगत तर्फ १ अर्ब २ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२ देखि बहुवर्षीय योजनामा समावेश गर्न आवश्यक मापदण्ड तयार गर्ने कार्य अहिले अर्थ मन्त्रालयले तीव्र गतिमा अघि बढाइरहेको हो । सहकर्मी ठबिन्द्र मगरका अनुसार, राजमार्ग निर्माण र विस्तार कार्य छिटो अघि बढाउन भौतिक योजना तथा स्रोत सुनिश्चितता महत्वपूर्ण रहेको छ ।
यसै सन्दर्भमा भौतिक योजना मन्त्री कुलमान घिसिङसँग भेट गरी स्थानीयवासीहरूले भोगिरहेको समस्याको समाधानका लागि पहल भइरहेको छ । कोशी प्रदेशका पूर्व मन्त्री तथा स्थानीय नेताहरू रामकुमार खत्री, कृष्ण श्रेष्ठ, बुद्दी कटेल लगायत सम्बन्धित व्यक्ति लगातार प्रयासरत छन् । सडक बहुवर्षीय योजनामा समावेश गर्न अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता र आवश्यक आर्थिक मापदण्ड तयार पार्नु आवश्यक छ ।
सडक निर्माण कार्य सफल बनाउन स्थानिय बुद्धिजीवी, सामाजिक र राजनीतिक वर्ग, पत्रकार, स्थानीय तहका प्रतिनिधि, उद्योग–वाणिज्य संघका पदाधिकारी तथा सबै स्थानीयवासीको निरन्तर पहल उल्लेखनीय रहेको छ । आगामी दिनमा स्रोत–साधन सुनिश्चित भई काम द्रुत गतिमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ । यो राजमार्ग केवल यातायात सुविधा मात्र नभई सम्पूर्ण क्षेत्रमा आर्थिक विकास, व्यापार विस्तार र जनजीवनमा स्थायी सुधार ल्याउने महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।











Discussion about this post