मंसिर ४, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बिहीबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको छ । घोषणासँगै यो वडा गाउँपालिकाकै पहिलो बालमैत्री वडा बनेको छ ।बालमैत्री वडा घोषणा कार्यक्रममा प्रमुख आतिथ्यता गर्दै गाउँपालिका अध्यक्ष मेजर कुमार राई र वडा अध्यक्ष कबिचन्द्र राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यस अवसरमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको व्यापक उपस्थिती रहेको थियो। बालमैत्री स्थानीय शासनका फोकल पर्सन मिलन परियारका अनुसार, सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ अनुसार तोकिएका ५१ सूचकमध्ये अधिकांश पूरा भएपछि वडालाई बालमैत्री घोषणा गरिएको हो ।
वडालाई बालमैत्री घोषणा गर्न जालपा एकिकृत विकास समाज र मानव अधिकार वातावरण विकास केन्द्र, उदयपुरले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए। निर्देशिकाका अनुसार यस वडामा, एक वर्षभित्रका बालबालिकालाई पूर्ण खोप उपलब्ध गराउने, प्रत्येक घरपरिवारमा आयोडिनयुक्त नुन, कम तौल, पुड्को र ख्याउटेपन कम गर्ने, खानेपानी र शौचालय उपलब्ध गराउने, अनिवार्य जन्मदर्ता सुनिश्चित गर्ने, बालविवाह मुक्त क्षेत्र कायम गर्ने, बालबालिकाविरुद्धको हिंसा, बेचबिखन, शोषण र दुव्र्यवहारमा कमी ल्याउने लगायतका लक्ष्य पूरा गरिएको छ।

त्यसैगरी सामाजिक कुप्रथा जस्तै छाउपडी, कमलरीजस्ता नकारात्मक प्रथाको अन्त्य, सबै बालबालिकाको विद्यालयमा उपस्थिती सुनिश्चित गर्नु, सडक बालबालिका शून्य बनाउने, बाल क्लब सञ्जाल गठन, प्रत्येक विद्यालयमा खानेपानीको सुविधा सहित छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था, विद्यालय व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लब प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था पनि निर्देशिकामा समावेश छ । आजको कार्यक्रम विश्व बाल दिवसको अवसरमा आयोजना गरिएको थियो ।











Discussion about this post