मंसिर ७, सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा बृहत् आँखा शिविर सञ्चालन हुने भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु, तिलगंगा आँखा प्रतिष्ठान र अन्धोपन उपचार परियोजनाको संयुक्त आयोजनामा, जिल्ला समन्वय समिति सोलुखुम्बु, सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी सोलु तथा स्वास्थ्य कार्यालय सोलुखुम्बुको समन्वयमा हुने यो शिविर मंसिर १६ देखि २६ गतेसम्म सञ्चालन हुने तय गरिएको छ ।
शिविर मंसिर १६ गते सोताङ प्राथमिक अस्पताल, १७ गते वाकु स्वास्थ्य चौकी, १९ गते बतेघारी स्वास्थ्य चौकी (नेचासल्यान), २१ गते तिङ्ला स्वास्थ्य चौकी, २२ गते काकु स्वास्थ्य चौकी, र २५ तथा २६ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा शिविर सञ्चालन हुने छ । शिविरमा निः शुल्क आँखा परीक्षण, निशुल्क औषधि वितरण, निशुल्क चस्मा जाँच तथा सहुलियत दरमा चस्मा वितरण गरिनेछ ।
त्यस्तै, शिविरमा मोतियाविन्दूको आशंका वा छनोट भएका बिरामीहरूको मंसिर २८ र २९ गते तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र विशेषज्ञद्वारा फाप्लुमा सर्जरी गरिने जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुकै प्रमुख विधान ताम्राकारले जानकारी दिनुभयो । यो शिविरका माध्यमबाट हिमाली भेगका नागरिकले विशेषज्ञ सेवा प्राप्त गर्ने अवसर पाउने भएकाले स्थानीयवासीहरू खुशी देखिएका छन् ।











Discussion about this post