मंसिर ८, सोलुखुम्बु । खोटाङमा पछिल्लो समय बढ्दै गएको आत्महत्या दरबारे समुदायमा चेतना फैलाउन सञ्चार क्षेत्रबाट दिएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै रेडियो एभरेष्टका सञ्चालक अशोक साम्पाङलाई ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले कदरपत्रसहित सम्मान गरेको छ ।
मानसिक स्वास्थ्य सचेतनामूलक उद्देश्यका साथ संचालन गरिएको ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकका गतिविधीहरूको निरन्तर प्रसारण, प्रचार–प्रसार तथा सामुदायिक सन्देश विस्तारमा साम्पाङले पुर्याएको सहयोगका कारण उनी सम्मानका लागि चयन गरिएको आयोजक संस्थाले जनाएको छ । ‘शून्यदेखि शिखरसम्म’ नामक उक्त नाटकको आठौँ सोसँगै कार्यक्रम समापन भएको थियो । अभियानको सुरुवात मंसिर ३ गते बालाचतुर्दशीका अवसरमा मझुवा कालिका भगवती मन्दिर परिसरबाट गरिएको थियो ।
त्यसपछि मंसिर ४ गते दिक्तेलका तीन विद्यालय—समावि, माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल र पञ्च माविमा क्रमशः दोस्रो, तेस्रो र चौथो शो प्रस्तुत गरियो। तेस्रो दिन मंसिर ५ गते दिक्तेल बहुमुखी क्याम्पस र जिल्ला समन्वय कार्यालय अगाडि पाँचौँ तथा छैटौँ शो सम्पन्न भएको थियो ।
मंसिर ६ गते दिक्तेल साप्ताहिक हाटडाँडामा सातौँ शो देखाइएको थियो भने अन्तिम आठौँ शो मंसिर ७ गते दिक्तेल बोर्डिङ स्कुलमा आयोजना गरिएको हो। सहजकर्ता अविन्द्र राईका अनुसार चुनौतीपूर्ण वातावरणका बाबजुद सबै शो अत्यन्त सफल र प्रभावकारी रूपमा सम्पन्न भएका थिए ।
अभियान सफल पार्न सञ्जय राईको नेतृत्व र समन्वय महत्वपूर्ण रहेको बताइएको छ। विद्यालय, समुदाय र सार्वजनिक स्थानहरूमा प्रस्तुत नाटकले मानसिक स्वास्थ्यबारे खुलेर संवाद गर्न प्रेरणा दिएको आयोजकहरूको भनाइ छ ।
कार्यक्रमका लेखक तथा निर्देशक सुजन आचार्य थिए। अभिनयमा सञ्जिव राई, सन्तोष गिरी, सुनिल गिरी, आकृति भुजेल, सोनाम हाङ राई, ललिजन राई, गुराँस आचार्य, मनसुना आचार्य, सुशिला भट्टराई, मनिस कठेत, भिषण कार्की र समिक्षा कट्वाल सहभागी थिए ।










Discussion about this post