जेठ २४, सोलुखुम्बु । सोलुखुम्बुमा विवाहित हिन्दू मैथिल नारीले हर्षोल्लासका साथ वरसाइत (वटसावित्री) पर्व मनाएका छन् । श्रीमानको आयु र आफ्नो अटल सौभाग्यको कामना गर्दै महिलाहरूले वटसावित्री पर्व मनाएका हुन् ।
सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको बरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ का कल्पना साहले बताउनुभयो । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत संकल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रूख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा–आराधना गरेर यो पर्व मनाईने उहाँको भनाई छ ।
व्रतालुले ज्येष्ठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा रहेको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ बस्दै आएका अन्त्रिका शाहले बताउनुभयो । महिलाले व्रत पूजा गरी कथा सुनेर वरको वृक्षमा सुतीको धागो बाँध्ने गर्छन् । वरको बोटमा सुतीको धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास रहिआएको सन्जु साहले बताउनुभयो ।
विवाह भएकी महिलाले पहिलो वर्ष विभिन्न विधिअनुसारले मनाउने गरिन्छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (विवाहपछि आउने पहिलो पर्व) अनिवार्य रूपमा श्रीमानकै घरमा मनाउनुपर्ने परम्परा रहिआएको छ ।
Discussion about this post