मंसिर ९, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान औपचारिक रूपमा शुरुआत गरिएको छ। हरेक वर्ष अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५ देखि डिसेम्बर १०) को अवसरमा मनाइने यस अभियानअन्तर्गत यस वर्ष पनि गाउँपालिकाले विभिन्न कार्यक्रमसहित अभियान थालेको हो। यस वर्षको अन्तर्राष्ट्रिय नारा “सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ” रहेको छ भने राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ” तय गरिएको छ।
अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्नु, प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउनु र महिलाको हक–अधिकार संरक्षण तथा सशक्तिकरणलाई अघि बढाउनु रहेको छ।
मंगलबार बिहान अभियानअन्तर्गत विभिन्न नारा तथा प्लेकार्डसहित बजार क्षेत्रमा प्रभात फेरी निकालियो। सहायक महिला विकास निरीक्षक चन्द्रकला राईका अनुसार प्रभात फेरीसंगै गाउँपालिकामा १६ दिने कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको सक्रिय सहभागिता थियो। संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर यो अभियान मनाइँदै आएको छ।
नेपालमा भने २०५४ सालदेखि यो दिवस तथा १६ दिने अभियान मनाउन थालिएको हो। यद्यपि प्रत्येक वर्ष चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आए पनि महिलामाथि हुने हिंसा—जस्तै बोक्सी आरोप, छाउपडी, दाइजो प्रथा, छुवाछुत जस्ता कुप्रथाबाट उत्पन्न समस्याहरू—अहिलेसम्म पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। अभियानले यस्ता समस्याबारे जनचेतना फैलाउन र समाधानतर्फ समाजलाई उन्मुख गराउने अपेक्षा गरिएको छ।










Discussion about this post