मंसिर १०, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा ७ लाख ८ हजार भन्दा बढी क्युफिट काठ निर्यात गरेको छ । साउनदेखि कार्तिक मसान्त सम्म कार्यालयले ७ लाख ८ हजार ६ सय २५ दशमलव ४३ क्युफिट काठ निर्यात गरेको जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाबाट मुख्य रूपमा खयर, उत्तिस लगायतका काठ निर्यात हुने गरेका छन् । यस्तै चिराइतो र लोक्ता जस्ता जडीबुटी पनि उल्लेख्य मात्रामा बाहिरिने गरेका छन् । वन नर्सरीको उत्पादन तथा वितरणका क्रममा चालु आर्थिक वर्षको यस अवधिसम्म १ हजार ७ सय ७१ वटा काठजन्य विरुवा तथा १ सय ८६ वटा जडीबुटीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख रामजी शाहले जानकारी दिनुभयो ।
राजस्व तर्फ, कार्यालयले मूल्य अभिवृद्धि कर मार्फत २० लाख ६७ हजार २ सय ९३ रुपैयाँ र प्रदेश सेवा शुल्कबाट ३ लाख ९८ हजार ७ सय ८७ रुपैयाँ राजस्व संकलन गरेको छ । डिभिजन वन कार्यालयले काठ तथा जडीबुटीको दिगो व्यवस्थापन र वन उपभोगमा पारदर्शिता बढाउँदै निर्यात तथा नर्सरी प्रवद्र्धनका कार्यक्रम निरन्तर अघि बढाइरहेको जनाएको छ ।










Discussion about this post