मंसिर ११, सोलुखुम्बु । मंसिर ८ गतेदेखि पश्चिम पृतना मुख्यालय, सुर्खेतमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि तथा उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी दिपेश जंग शाहले अभिमुखीकरण पूरा गरेका सहभागीहरूलाई बधाई दिँदै प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा सहभागिता जनाएका २४ जना सञ्चारकर्मीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, नेपाली सेनाको जिम्मेवारी क्षेत्रभित्र पर्ने तथा लामो समयदेखि सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका ९ वटा एफएम स्टेशनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयबाट प्रोत्साहनस्वरूप नगद पुरस्कार तथा कदरपत्र प्रदान गरिएको थियो ।
अभिमुखीकरणका क्रममा सहभागी सञ्चारकर्मीहरूले नेपाली सेनाका विविध पक्षबारे जानकारी प्राप्त गर्नुका साथै विपद् व्यवस्थापन, प्रतिकार्य, समसामयिक विषयहरूमा अन्तरक्रिया तथा स्थल अध्ययन भ्रमणमा समेत सहभागी भएका थिए ।
नेपाली सेनाले यस्ता कार्यक्रमबाट विभिन्न स्थानमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई सेना–सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा सहजता र स्पष्टता स्थापित गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।











Discussion about this post