मंसिर १५, सोलुखुम्बु । नेकपा एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ । जिल्ला अध्यक्ष देवविक्रम राईले सार्वजनिक गरेको सूचीप्रति असहमति जनाउँदै २८ जना युवा नेताले वक्तव्य जारी गरेका छन् । उनीहरूले पार्टीको विधानविपरीत प्रतिनिधि छनोट गरिएकाले सच्याउन माग गरेका छन् ।
पार्टी विधानको धारा ७५, ७६ र ७७ विपरीत प्रतिनिधि छनोट गर्न नमिल्ने कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेले बताउनुभयो । उहाँका अनुसार विधानका यी धाराहरूमा पार्टीको सार्वभौम अधिकार सदस्यमा निहीत हुने, लोकतान्त्रिक प्रणाली अपनाउनुपर्ने र फरक मतलाई निषेध गर्न नपाइने उल्लेख छ । तर, आवश्यक प्रक्रिया पूरा नगरी नेताहरूको गोजीबाट प्रतिनिधि छनोटको सूची तयार पारिएकाले सच्याउनुपर्ने उनीहरूको माग छ ।
अध्यक्ष राईले भने निर्विरोध निर्णय भएको भन्दै १० जनाको नाम सार्वजनिक गरेका छन् । सार्वजनिक सूची अनुसार खुलातर्फ कुमारप्रसाद आचार्य, देवविक्रम राई, पिके राई, रामप्रसाद दंगाल र सुरेन्द्रकुमार राई प्रतिनिधि चयन भएका छन् । युवा तर्फ जगत राई र दलित तर्फ दीपक ठटाल चयन भएका छन् । महिला तर्फ कविता राई, पुष्पकला भुजेल र विणादेवी राई प्रतिनिधि चयन भएका छन् ।










Discussion about this post