मंसिर १७, सोलुखुम्बु । सोताङ गाउँपालिका–२ को नयाँ प्रशासनिक भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको ४० प्रतिशत र जिल्ला समन्वय समितिको ६० प्रतिशत साझेदारीमा निर्माण भएको भवन कुल १ करोड २७ लाख रुपैयाँ लागतमा तयार भएको हो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला प्रमुख अतिथि तथा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत विशेष अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले सोताङ गाउँपालिका शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै अब्बल बन्ने दिशामा अघि बढिरहेको बताउनुभयो । त्यस्तै, प्रमुख निरौलाले स्थानीय सरकारको विकास र समन्वय समितिको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्घाटनसँगै आयोजित विशेष कार्यक्रममा वडा कार्यालयले संस्कार तथा संस्कृति संरक्षणलाई सुदृढ बनाउन विभिन्न अग्रज व्यक्तिहरूलाई सम्मान गरेको थियो । खालिङ–राई र शेर्पा समुदायका अग्रज, चेपेल क्षेत्रका पूर्व जनप्रतिनिधि, पर्वतारोहीहरू तथा द भ्वाइस किड्स का फाइनलिस्ट गणेश विश्वकर्मालाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ, वडाध्यक्षहरू, निमित्त प्रमुख प्रशासनिक अधिकृत श्रीध्वज राई, अन्य कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिती रहेको थियो ।










Discussion about this post