मंसिर १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन आज जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले गर्नुभएको हो । सोलुदुधकुण्ड–५ स्थित जनजागृति माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको उक्त प्रतियोगिता मंसिर २२ गतेसम्म निरन्तर जारी रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा खेलाडी दर्ता निर्देशिका–२०७० को अनुसूची–४ मा उल्लेख गरिएका खेलहरू मात्र समावेश गरिएको छ । यस वर्ष प्रतियोगितामा १४ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ । विशेषतः एथलेटिक्सतर्फ विद्यार्थीहरूको उपस्थिति उल्लेख्य रूपमा वृद्धि भएको आयोजकको भनाइ छ ।
सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय, साथै ३० जना स्वयंसेवक र स्वास्थ्य टोली परिचालन गरिएको छ । उक्त कार्यक्रमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभयो । सो अवसरमा सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङबु शेर्पा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थो ।
त्यसैगरी उपमेयर गान्धिमाया तामाङ, नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डे, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि र प्रतिस्पर्धात्मक क्षमताको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।










Discussion about this post