मंसिर २१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रथम साहित्य सङ्गोष्ठी हुने भएको छ । शहीद कुसुम स्मृति प्रतिष्ठान, नेपाल र नेचासल्यान गाउँपालिकाको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँको सहकार्यमा आगामी मंसिर २४ गते बुधबार ‘नेचासल्यान साहित्य सङ्गोष्ठी’ आयोजित हुने भएको हो । कार्यक्रम प्रतिष्ठानको सभाहलमा सञ्चालन हुनेछ ।
सङ्गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य–सचिव डा. धनप्रसाद सुवेदी र प्राज्ञ सभा सदस्य चेतनाथ धमला विशेष अतिथिका रूपमा सहभागी हुनुहुने भएको छ । शहीद कुसुम स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी.का अनुसार कार्यक्रममार्फत नेचासल्यान क्षेत्रका साहित्यिक सिर्जनामा सक्रिय दुई दर्जनभन्दा बढी स्रष्टालाई सम्मान गरिनेछ ।
त्यसैगरी ‘विद्यार्थी–कुलपति सेसन’ अन्तर्गत अन्तरक्रिया कार्यक्रम, नेचासल्यान मा.वि. स्तरीय खुला कविता÷गजल प्रतियोगिता, कला–साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुति तथा प्राज्ञद्वारा टिप्पणी, रचना वाचन लगायतका गतिविधि सञ्चालन हुने जानकारी दिनुभयो । यसअघि पनि प्रतिष्ठानले ‘नेपालको सन्दर्भमा समाजवाद’ विषयक राष्ट्रिय गोष्ठी तथा माक्र्सीय गुरुकुल, नेपाल खुला विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयसँग सहकार्य गरी ‘माक्र्सवाद र एशियाली दर्शन’ विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन भव्यरूपमा सम्पन्न गरेको थियो ।
गाउँपालिका अध्यक्ष धनजन राईकाअनुसार साहित्य, कला र संस्कृतिको प्रवद्र्धनका लागि विद्यालय तहका विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले आयोजना हुने यस्ता कार्यक्रमप्रति गाउँपालिका सदैव प्रतिबद्ध रहँदै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा यसपटकको साहित्यिक कार्यक्रम सम्पन्न हुन लागेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।











Discussion about this post