मंसिर २१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा पर्यटन पूर्वाधार विकास गर्ने उद्देश्यले निर्माण हुन लागेको जिपलाइनको शिलान्यास गरिएको छ ।
गर्नुभएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का क्रमागत योजनाअन्तर्गत नेचासल्यान–१ स्थित गौरीटाप क्षेत्रमा निर्माण हुन लागेको यो जिपलाइनको आईतबार पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर के.सी., गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
यो जिपलाइन जिल्लाकै पहिलो जिपलाइन मानिनेछ । करिब ५०० मिटर लम्बाइको जिपलाइनसँगै दुवै तर्फको टावरमा २०–२५ जना सम्मले सगरमाथासहित हिमाल श्रेणी अवलोकन गर्न सक्ने भ्यु–टावर, रक क्लाइम्बिङ तथा करिब ४५ मिटर लामो साइकलिङ स्पटसमेत निर्माण गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
जिपलाइन निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माणको जिम्मा पाएको सिन्धुपाल्चोकस्थित कालिका निर्माण सेवाले काम सुरु गरिसकेको र चाडैँ जिपलाइन सञ्चालनमा ल्याउने तयारी रहेको निर्माण कम्पनीले जनाएको छ । यससँगै गाउँपालिकालाई सदरमुकाम र राजधानीसँग जोड्ने वैकल्पिक सडक निर्माण पत्तालेमार्फत अगाडि बढाइँदै छ ।
सडक तथा जिपलाइन सञ्चालनमा आएपछि गाउँपालिकाको आन्तरिक पर्यटन वृद्धि हुने र स्थानीय आम्दानीमा समेत ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ । शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे, वडा नम्बर १का अध्यक्ष रमेश कुमार राई, वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराईसहित स्थानीयवासी तथा सुरक्षाकर्मीहरूको उपस्थिति थियो ।











Discussion about this post