मंसिर २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दु क्षेत्रमा रहेका गर्भवती महिलालाई लक्षित गर्दै नगरपालिका स्तरबाट निःशुल्क ग्रामीण भिडियो एक्स–रे सेवा सञ्चालन गरिने भएको छ । नगरपालिकाको पहल तथा दक्ष स्वास्थ्यकर्मीहरूको सहजिकरणमा सञ्चालन हुने उक्त सेवा अन्तर्गत गर्भवती महिलाहरूको भिडियो एक्स–रेमार्फत गर्भ जाँच गरिने स्वास्थ्य चौकी टाक्सिन्दुका प्रमुख भद्र बहादुर खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार आगामी मंसिर २५ गते टाक्सिन्दु स्वास्थ्य चौकीमा विशेष स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा स्थानीय बस्तीका सबै गर्भवती महिलाहरूले निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । नगरपालिका क्षेत्रका दुर्गम बस्तीमा बसोबास गर्ने महिलाहरूको स्वास्थ्य पहुँचलाई सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जनाइएको छ ।
स्वास्थ्य सेवा पहुँच अभावका कारण नियमित गर्भ परीक्षण गराउन कठिनाइ हुने महिलाहरूलाई यस कार्यक्रमले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । स्थानीयवासीहरूले पनि यस्तो किसिमको निःशुल्क र प्रविधिमैत्री स्वास्थ्य सेवा ग्रामीण भेगका महिलाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्तै उपयोगी हुने प्रतिक्रिया दिएका छन् ।











Discussion about this post