मंसिर २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ मा सञ्चालन भइरहेको जिविकोपार्जन पुनःस्थापना कार्यक्रमअन्तर्गत दोस्रो चरणको तरकारी खेती सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तल्लो सोलु जलविद्युत आयोजना (८२ मेगावाट) को सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोलु हाइड्रो पावर लिमिटेडले १८ गतेदेखि सुरु गरेको तालिम मंगलबार औपचारिक रूपमा सम्पन्न भएको हो ।
तालिममा स्थानीय कृषकहरूको सक्रिय सहभागिता रहेको र उनीहरूलाई आधुनिक तरकारी खेतीका प्रविधि, व्यवसायिक उत्पादन, रोग–कीरा व्यवस्थापन तथा विपणनका आधारभूत सीपहरू प्रदान गरिएको वडा अध्यक्ष टंक बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमले स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन र आय–आर्जन बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
सङ्गठित रूपमा कृषि उत्पादन बढाएर स्थानीय स्तरमै रोजगार सिर्जना गर्न तालिम उपयोगी हुने आयोजकहरूको भनाइ छ । सोलु हाइड्रो पावर लिमिटेडले आगामी दिनमा पनि यस्तै सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।










Discussion about this post