मंसिर २३, सोलुखुम्बु । सोलुखुम्बुमा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा २१ हजार ४ सय ७० घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ । कार्तिक २३ गतेबाट शुरु गरिएको अभियान जिल्लाका सबै आठ स्थानीय तहमा विस्तार गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्लेरीका सुचना अधिकारी उदय नारायण यादवका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ८ सय ६५, महाकुलुङ गाउँपालिकामा २ हजार ४ सय ९५, सोताङ गाउँपालिकामा २ हजार ५ सय ६६, माप्य दुधकोशी गाउँपालिकामा २ हजार ६ सय ९४ वटा पशुलाई खोरेत विरुद्धको खोप लगाइएको छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिकामा १ हजार ९ सय ९२, नेचासल्यान गाउँपालिकामा ४ हजार ६ सय ४६, सोलुदुधकुण्ड नगरपालिकामा ३ हजार ५ सय १ र लिखु पिके गाउँपालिकामा २ हजार १९ वटा पशुलाई खोरेत विरुद्धको खोप लगाइएको छ । यता सोलुदुधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकामा करिब ६/६ सय पिपिआर खोप पनि वितरण गरिएको केन्द्रले जनाएको छ ।
भौगोलिक विकटता र दुर्गम बस्तीहरूमा पहुँच कठिन भएकाले तोकिएको समयभित्र अभियान पूरा गर्न नसकिएको र खोप कार्यक्रम निरन्तर जारी राख्न समय थप गरिएको अधिकारी यादवले बताउनुभयो । जिल्लाभर खोप अभियान सञ्चालन भएपछि खोरेत रोगको जोखिम घट्ने, पशु स्वास्थ्यमा सुधार आउने र पशुपालन क्षेत्र सुरक्षित हुने अपेक्षा गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।










Discussion about this post