मंसिर २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको छ । नगरपालिका, अन्तर पार्टी महिला संजाल सोलुखुम्बु, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ तथा महिला मानव अधिकार रक्षकहरूको जिल्ला संजाल सोलुखुम्बुको संयुक्त आयोजनामा मंसिर ९ गतेदेखि सुरु गरिएको अभियान बुधबार सम्पन्न भएको हो ।
“प्रविधिको सही प्रयोग गरौंः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ सञ्चालित अभियानअन्तर्गत समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रीता ढुंगनाले जानकारी दिनुभयो । अभियानका क्रममा घरेलु हिंसा तथा मानव बेचबिखन सम्बन्धी अभिमुखीकरण, कानुनी सहायता, प्रविधिको सुरक्षित प्रयोगबारे प्रशिक्षण लगायतका कार्यक्रम गरिएको थियो ।
ढुंगनाका अनुसार अभियानको उद्देश्य स्थानीय तहमा बढ्दै गएको लैंगिक हिंसा नियन्त्रण, जोखिम समूहलाई सचेतना प्रदान, हिंसा सम्बन्धी विषयमा खुला संवादको वातावरण निर्माण तथा समानता र सुरक्षित समाज निर्माणका लागि स्थानीय तहको भूमिका सुदृढ बनाउनु रहेको थियो । समुदायको सक्रिय सहभागितासहित सम्पन्न उक्त अभियानले स्थानीय स्तरमा लैंगिक हिंसा अन्त्यप्रति सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।










Discussion about this post