मंसिर २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङस्थित ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा जनरल वार्ड भवन निर्माणको शिलान्यास गरिएको छ । शुक्रबार सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पा, एक्टिभ फ्रेन्ड नेपालका म्यानेजिङ डाइरेक्टर तथा समाजसेवी मिङमार शेर्पा र वडा अध्यक्ष होमबहादुर मगरले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।
वि.सं २०७८ साल देखि नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएको ओङ्छु शेर्पा मेमोरियल अस्पतालबाट सोलुदुधकुण्ड नगरपालिका–८, ९ र १० का नागरिकसहित छिमेकी जिल्ला ओखलढुंगाका स्थानीय बासिन्दाहरूले समेत निरन्तर स्वास्थ्य सेवा लिँदै आएका छन् ।
वडा अध्यक्ष होमबहादुर मगरका अनुसार क्षेत्रको जनसंख्या वृद्धि, स्वास्थ्य सेवाप्रतिको माग विस्तार र पूर्वाधारको आवश्यकता बढ्दै गएपछि अस्पताल परिसरमै नयाँ जनरल वार्ड भवन निर्माण थालिएको हो । नयाँ भवन निर्माण कार्य हिमालयन योक्पु फाउन्डेसनको आग्रहमा, एक्टिभ फ्रेन्ड नेपालका म्यानेजिङ डाइरेक्टर मिङमार शेर्पाको विशेष पहल तथा अनुरोधमा जर्मनीका नागरिकहरूको आर्थिक सहयोगमा अघि बढाइएको हो ।
यसका साथै अस्पताल निर्माण तथा सेवा विस्तारका लागि लुम्सा शेर्पा फाउन्डेसन र संगिता कन्स्ट्रक्सनबीच औपचारिक सम्झौता सम्पन्न भइसकेको जानकारी दिइएको छ । स्थानीयवासीहरूले नयाँ जनरल वार्ड भवन निर्माणपछि टाप्टिङ तथा आसपासका वडाहरूमा स्वास्थ्य सेवा अझ व्यवस्थित, सुलभ र गुणस्तरीय हुने विश्वास व्यक्त गरेका छन् ।










Discussion about this post